प्रिय आकास,
हाम्राे जीवनकाे दैनिकी अवरूद्ध भएकाे छ। जीवनयापनकाे स्वाभाविक गतिमा अल्पविराम लागेकाेछ । जताततै काेराेना छ। काेराेनाले निम्त्याएकाे त्रासदी छ । आशाहरू मुर्झाएका छन अनि निराशाका गाँजहरू माैलाएका छन। कुनै साहस छैन, तेज छैन, र छैन कुनै उत्साह । छ त केवल डर र निराशा। अनिश्चय र आशंका। गतिहिन भएकाेछ जीवन । शहरमा सबै चिज बन्द छन। बजार, सडक, बिद्यालय अनि कलेजहरू, निजि तथा सरकारी कार्यालयहरू, हाेटल तथा लजहरू, पार्क अनि मनाेरंजनस्थलहरू। सबैतिर सन्नाटा छाएकाेछ। खुला छन त केवल अस्पतालहरू जहाँ मृत्यु सुसाइरहन्छ हरपल। सास फेर्न कठिन भएर थलिएका मानिसहरूकाे घुइचाें छ रे त्यहाँ। लासहरू ढलेका छन रे जताततै, सिंढीमा, पिढींमा । डाक्टर र नर्सहरू छाेपिएकाछन सर्वाङ्ग, पिपिइ, माक्स अनि ग्लाेवले। न आराम भन्न पाएका छन, न परिवार भन्न पाएका छन। दिन रात निरन्तर बिरामीकाे सेवामा खटिदा खटिदा तिनीहरू आफै संक्रमित भएका छन, वा थकान अनि हतासमा आफै निरिह भएका छन। दिनदिनै परिश्रम गरेर बाँच्ने र परिवारकाे गुजारा गर्नुपर्ने मजदुरहरूकाे अवस्था दुरूह छ। नत घरमा अन्न छ, न त बाहिर काम छ। न त सरकार छ। छन त केवल आहत मनहरू, अशान्त जीवनहरू । बाहिर सुनसान अनि भित्र भयानक तुफानमा रूमलिएका छन मनहरू ।
म घर मै छु, आफैले आफैलाइ कैदी बनाएर मेराे मानविय जिम्मेवारि पुरा गरिरहेछु । परिवारसँगै छु त्यसकारण आत्तिएकाे छैन। तर समाचारहरूले दुखी बनाउछ। प्रियजनहरूका मृत्युका खवरले मन अत्याउछ। सामाजिक सञ्जालका भित्ताहरूमा पाेखिएका समवेदना र श्रद्धान्जलीका पाेष्टहरूले मन बिचलित बनाउछ। तर जीवन हाम्राे हातमा छैन। नियतिले अरू के के भाेग्न बाध्य बनाउने हाे थाहा छैन। जीवनका कठाेरताहरूले निरिह बनेका हामी केवल रमिते भएका छाै । किंकर्तब्यबिमुढ।
बाटा पर्तिर एकतमासले कुकुरहरू भुकिरहेका छन । ठुलै कल्याङमल्याङ छ त्यता। शायद मानिसहरूकाे अनुपस्थितिमा कुकुरहरूकाे रासलिला चलिरहेकाे छ। हुन त तिनलाइ पनि गाराे छ। बजार गुल्जार हुँदा, हाेटल र चिया पसलहरू खुल्लै हुँदा जुठाेपुराे खान पाउथे आरामले। तर तिनकाे जुठाे खाने अधिकार पनि कटाैती भएकाेछ आजकल। कतै भाेकले पाे बिद्राेह गरिरहेका हुन कि । पल्लाे घरकाे छतमा एउटा एक्ले ढुकुर कुर्लीरहेछ एकाेहाेराे ढुकुरकुर ढुकुरकुर । पाेथीकाे आशमा हाेला शायद। एकहुल भंगेराहरू हुर्रिएर आउछन र उसरी नै बेपत्ता हुन्छन। बिजुलीकाे पाेलमाथि फिस्टाहरूकाे प्रेमलिला रहरलाग्दाे छ। जुरेली अनि रूपीहरू घर अगाडिकाे बिजुलीकाे तारमा झुत्ती खेलिरहेछन। चिवे चराे बाँकटे मार्दै हावामा कावा खादैछ । माथि उचाइमा फाट्टफुट्ट उडिरहेछन चिलहरू । तिनीहरू भन्दा माथि बादलका एकाध टुक्राहरू तैरिरहेछन यता उता। तिनकाे सहज चंचलतामा म आफै भित्रकाे खुसी गाँसिएकाे पाउछु । तर मलाइ तिनिहरू भन्दा पनि पर पुग्न मन लाग्छ । आकासकाे गहिराइमा। जहाँ ज्याेतिपुञ्जकाे अपरिमेय आयतन छ। उज्यालाेकाे अपरिमित फैलावट छ।
म झ्यालमा बसेर, ति चराहरू भन्दा पर, बादलहरू भन्दा पनि पर, तिमिलाइ हेरिरहेछु। तिम्राे बिहंगम फैलावटमा एकटक हेरिरहदा अथाह शान्तिकाे अनुभुति हुन्छ मलाइ । तिम्राे निलाे बिराट खालिपनमा गहिराे आनन्द महसुस गर्छु म। तिम्राे असिमित आयतनमा मेरा बिचारहरूले अर्थ भेटे झै लाग्छ। भ्रम हाे कि यथार्थ हाे थाहा छैन। तर त्यहाँ तिम्राे सामिप्यतामा म जीवनकाे पुर्णताः गासिएकाे पाउछु। साँझ पर्न लागेकाे छ। टाढा क्षितिजमा राता अनि सुन्तले रंगहरू मिसिएर एउटा काेलाज बनेकाे छ। घाम डाडा पर्तिर अेारालाे लाग्दै छ। घामकाे तेज बिस्तारै सेलाउदै गएकाे छ । केहि बेरमा त्याे भर्भराउदाे पहेलाें घाम बिस्तारै राताे सिम्रिक जस्ताे रंगमा बदलिनेछ। अहिले त सुन्तले रंगकाे जादु छरिएकाे छ त्यहाँ। त्याे सुन्तले रंगमा घाेलिएकाे क्षितिज अतिनै मनमाेहक छ । चित्ताकर्षक छ। अनि त्याे रंगकाे पृष्ठमा डुवेकाे पहाड, एउटा सुन्दर चित्रकला जस्ताे प्रतित हुन्छ। म मनमनै उद्वेलित छु । चंचल छु । म लाेलाएकाे छु तिमिलाइ हेरेर। तिम्राे रंगमा भुलेर। सबै बिर्सेकाे छु, दुखः,डर, अनि बिभिषिकाकाहरू। अस्ताञ्चलमा घनिभुत हुदै गएकाे तिम्राे काेलाजमा मृत्युका काेलाहलहरू बिस्मृत भएकाे पाउछु म। शायद तिमी अनन्त छाै, इन्फिनिट। त्याे तिम्राे अविनासी अभिभाज्य अनि कालजयी क्यानभासमा मेराे सुष्क अनि भयभित आत्माकाे पुनर्जिवन सम्भव छ? शायद यसकाे उत्तर पनि मै सँग छ। पुनर्जिवन सम्भव हुदैन थियाे भने म मृत्युकाे बिचमा कसरी हाँस्न सक्थे? त्यसकारण म प्रत्येक पल अस्ताञ्चलकाे पर्खाइमा हुन्छु। भाेलीकाे पर्खाइमा। बिहानीकाे पर्खाइमा। उल्यालाेकाे पर्खाइमा।
No comments:
Post a Comment